Breaking

रास्वपाका सांसद्को कडा प्रश्न, भारत, चीन र अमेरिकाका राजदूतका नयाँ खाका, विज्ञलाई ठाडा प्रश्न (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– प्रस्तावित राजदूतहरूको जारी संसदीय सुनुवाइका क्रममा समितिका सदस्यहरुले उनीहरुका योग्यता, अनुभव र पेस गरेको कूटनीतिक कार्ययोजनालाई लक्षित गरेर विभिन्न प्रश्न गरिरहेका छन् । सो क्रममा कतिपय सांसदहरुसँग कडा सवालजवाफ पनि भयो । शक्तिराष्ट्रका राजदूतहरुसँग सांसदहरुले नेपालको कूटनीति अब कुन दिशामा अघि बढ्छ ?, भारतसँगको सीमा विवाद, चीनसँगको बीआरआई र व्यापार, अमेरिकासँगको रणनीतिक सम्बन्ध तथा बेलायतसँगको गोर्खा सैनिकको समस्यालगायतका विषयमा प्रश्न गरे, कतिपय प्रस्तावित राजदूतले नेपो बेबी, राष्ट्रिय स्वार्थ, कूटनीतिक सन्तुलन र द्विपक्षीय सम्बन्ध सुधारबारे कडा प्रश्नको समना पनि गरे । सोमबार प्रस्तावित राजदूतहरु भारतका लागि डा. निश्चल नाथ पाण्डे, चीनका लागि कल्याण राज शर्मा, अमेरिकाका लागि चिरन जङ्ग थापा, बेलायतका लागि गौरव शमशेर जबरासँगको साढे आठ घण्टा लामो सुनुवाइ भयो । रणनीतिक, आर्थिक र कूटनीतिक दृष्टिले महत्त्वपूर्ण चार देशका प्रस्तावित राजदूतले पनि आ–आफ्ना कार्ययोजना प्रस्तुत गरे । सांसदहरुले सम्बन्धित देशसँगको सम्बन्ध सन्तुलित राख्दै नेपालको राष्ट्रिय हित कसरी जोगाउनुहुन्छ ? भन्ने साझा प्रश्न गरेका थिए ।