Breaking

शेखर पूर्णबहादुर अलपत्र, कोइराला परिवार नै तीनतिर, शेखरका खास सुनिल गगनका महामन्त्री (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– नेपालको राजनीतिक इतिहासमा कहिल्यै नभएको अभ्यास नेपाली कांग्रेसमा जारी छ । एउटै नाममा दुई समूहले फरक फरक महाधिवेशन गरिरहेका छन् । विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापा नेतृत्वको संस्थापन पक्षले असोज १८ गते १५ औं केन्द्रीय महाधिवेशन उद्घाटन गर्दैछ । असोज १५ गते देखि वडाअधिवेशनको सुरुवात गरिसकेको १४ औं महाधिवेशनबाट सभापति बनेका शेरबहादुर देउवा पक्षले पनि मंसिर २१ गतेदेखि १५ औं महाधिवेशनकै तयारी गरिरहेको छ । एउटै नाममा १५ औं महाधिवेशन गर्ने गरी दुई समूहले आफ्नो कित्ता क्लियर गरिसकेको अवस्थामा कांग्रेसको नेतृत्व गर्ने उत्कट चाहना बुनेका डा.शेखर कोइराला र पूर्णबहादुर खण्ड्का भने त्रिशङ्कु बनेका छन् । न यता न उताका हुन सकेका यी दुई नेताको राजनीतिक भविष्य नै सङ्कटतर्फ धकेलिएको छ । आफू तटस्थ बस्ने बताउँदै आएका कोइराला र खड्का कुनै पनि पक्षको महाधिवेशनमा सहभागी भएका छैनन् । आफ्ना पक्षधर नेताहरूलाई पनि कुनै समूहमा लाग्न खुला निर्देशन दिएका छैनन् । तर दुवै नेता पक्षधरका नेता–कार्यकर्ता भने कोही गगन तिर त कोही देउवा नेतृत्वको महाधिवेशनमा सहभागी हुने गरी विभाजित भइसकेका छन् ।