नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तल्लो तहको अधिवेशनका क्रममा प्रतिनिधि छनोटमा विभिन्न ठाउँमा विवाद, झडप र तोडफोडका घटना भएका छन् । केही स्थानमा विवादका कारण मतदान प्रक्रिया नै स्थगित भएको छ । हालसम्म स्याङ्जा–२, सिन्धुपाल्चोक–२, काभ्रे–२, दैलेख–२ र काठमाडौं–३ मा निर्वाचन प्रक्रिया तथा महाधिवेशन प्रतिनिधि चयनका विषयमा विवाद देखिएको हो ।
मोरङ–१ र ६ तथा सुनसरी–४ मा मतदानस्थलमै झडप र तोडफोडका घटना भएका छन् । मोरङलाई मात्रै हेर्ने हो भने पनि अधिवेशनसँगै विवाद र झडपका घटनाहरू निरन्तर सार्वजनिक भइरहेका छन् । विराटनगर महानगरपालिका–६ को वडा अधिवेशनमा मतदानकै क्रममा दुई पक्षबीच कुटाकुट नै भयो । विवादका कारण केही समय मतदानसमेत प्रभावित बन्यो । मोरङ क्षेत्र नम्बर–१ को अधिवेशनमा जिल्ला सभापति तथा पूर्वमन्त्री डिगबहादुर लिम्बू र क्षेत्रीय सभापतिका आकांक्षी देवराज चाम्लिङ राईबीच विवाद भयो ।


प्रतिक्रिया