काठमाडौं– नेपाली कांग्रेसले १५औँ महाधिवेशनका लागि वडा अधिवेशन सम्पन्न गरी प्रतिनिधि छानिसकेको छ । देउवा पक्षीय भनेर चिनिने हस्तीहरूलाई पन्छाउँदै अधिकांश ठाउँका वडा अधिवेशनमा गगन थापालाई सफलता नै मिल्यो । अर्को पक्षको सक्रिय सहभागिता नभएका कारण प्रायः सबै ठाउँमा सर्वसम्मत नेतृत्व चयन भयो । तर विडम्बना, पछिल्लो निर्वाचनमा रास्वपासँग लज्जास्पद हार व्यहोर्नु परेको र कांग्रेसका ठूलो संख्यामा रहेका कार्यकर्ता रास्वपा प्रवेश गरिसकेका छन् । अहिले देउवा पक्षबाट आएका पूर्णबहादुर खड्काको माग पूरा गर्न पुराना कार्यकर्ताको नामावली अद्यावधिक गर्दा रास्वपामा गइसकेका कार्यकर्ताको समेत नाम बोकेर कांग्रेस महाधिवेशनमा होमिनु परेको अवस्था छ । रास्वपाको विकास र विस्तारमा कांग्रेस पृष्ठभूमिका राजनीतिक कार्यकर्ताको विशेष भूमिका देखिन्छ । डा. स्वर्णिम वाग्ले, शिशिर खनाल, मनिष झालगायतको एउटा ठूलो पंक्ति कांग्रेसमा मात्र होइन, विगतमा गगन थापासँगै निकट थियो । प्रदेश, जिल्ला र पालिका तहमा पनि रास्वपा रोज्नेहरूमा कांग्रेस पृष्ठभूमिका नेता–कार्यकर्ताको संख्या ठूलो छ । रास्वपाले कांग्रेसबाट कार्यकर्ता र अन्य दलहरूबाट मत खोसेको छ । त्यसैले कागजी रूपमा कांग्रेसमा क्रियाशील सदस्यको संख्या ठूलो देखिए पनि वडा तहको उपस्थितिमा भने त्यो उत्साह देखिएन । यसले कांग्रेस पंक्तिमा उत्साहभन्दा बढी निराशा पैदा गरिदिएको छ ।
Breaking


प्रतिक्रिया