Breaking

विश्वको ध्यान बालेनतिर, यस्तो छ तयारी, पूर्वप्रधानमन्त्रीहरुका रेकर्ड यस्तो, बालेनले के गर्लान् नयाँ ? (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– ३५ वर्षसम्म कांग्रेस, एमाले र माओवादीले केही गर्न सकेनन् भन्दै प्रश्न तेर्साएकै भरमा सत्तामा पुगेका रवि–बालेन भोटेकोशी महाविपत्तिको मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने तीव्र दबाबमा छन् । संयुक्त राष्ट्रसङ्घ सुन्दा ठूलो तर प्रभाव खिइँदै गएको संस्था हो । न पहिलेको जस्तो आजको राष्ट्रसङ्घ छ, न त उबेलाको जस्तो आजको नेपाल नै । जसरी पछिल्ला वर्षहरूमा अन्तर्राष्ट्रिय जगतमा संयुक्त राष्ट्रसङ्घको प्रभाव क्षयीकरण भइरहेको छ, उस्तै अनुपातमा नेपालको प्रभाव र अस्तित्व पनि खुम्चिँदो छ ।
राष्ट्रसङ्घको महासभामा १४२ देशका सरकारप्रमुख, राष्ट्रप्रमुख वा देशका प्रतिनिधिहरूले आ–आफ्ना चिन्ता र चासोहरू बलबुताले भ्याएसम्म सुनाउने कोसिस गर्छन् । नेपाल पनि त्यतै कतै हुनेछ । विगतलाई हेर्दा यो केवल एउटा कर्मकाण्ड बन्दै आएको छ । तर, अहिले विश्व जलवायु परिवर्तनका कारण नेपालले हजारौँ नागरिक गुमाएको छ, लाखौँ नागरिक विस्थापित भएका छन् र अर्बौं डलरको भौतिक क्षति भएको छ । यस्तो विषम परिस्थितिमा राष्ट्रसङ्घको महासभामा भाग लिन जान लागेका प्रधानमन्त्री बालेन शाहले कर्मकाण्डी पूरा गरेर फर्किने मात्र होइन, विगतका नजिर हेर्दै विश्वलाई ठोस सन्देश दिने गरी तयारी गर्नुपर्ने छ ।