Breaking

‘ग्रे जोन’ रिपोर्ट : सदनमा चर्काचर्की, एमालेलाई रास्वपाको जवाफ, कड्किए विपिन र यज्ञमणि (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– अमेरिकी अनलाइन सञ्चारमाध्यम ‘द ग्रेजोन’ ले नेपालको नयाँ राजनीतिक नेतृत्व र आन्दोलनसम्बन्धी प्रकाशित गरेको विवादास्पद रिपोर्टलाई लिएर प्रतिनिधि सभामा प्रश्न उठेको छ । बिहीबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले उक्त रिपोर्टमा उठाइएका विषयहरू अत्यन्तै संवेदनशील र गम्भीर भएको भन्दै सरकारसँग सत्यतथ्य सार्वजनिक गर्न र स्पष्ट धारणा राख्न माग गरेका छन् । नेकपा (एमाले) का सांसद लक्ष्मीप्रसाद पोखरेलले प्रधानमन्त्री बालेन्द्र साह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित केही नेताहरूको राजनीतिक उदयमा अमेरिकी संस्थाहरूको भूमिकाबारे सरकारसँग जवाफ मागेका हुन् । सांसद पोखरेलले ‘ग्रेजोन’ ले रास्वपाको उदयमा अमेरिकी लगानी रहेको रिपोर्ट सार्वजनिक गरेको विषयमा सरकार र सभापति लामिछानेले जवाफ दिनुपर्ने बताए । उनले गत वर्षको आगजनीमा तालिमप्राप्त समूह र रासायनिक सोडियम प्रयोग भएको तथ्य ‘द न्युयोर्क टाइम्स’ ले प्रकाशित गरेको उल्लेख गर्दै ‘द ग्रेजोन’ ले प्रकाशित गरेका तथ्यहरूमाथि कसले जवाफ दिने भनी प्रश्न उठाए ।