Breaking

बालेनको बचाउमा रविको चट्टानी अडान, आफ्नै अरिंगाललाई खबरदारी, हिमालको हिसाब विश्वसँग खोजे (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले बितण्डा मच्चाएको १५औँ दिन बुधबार प्रतिनिधिसभाको रोस्ट्रममा उभिए— सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने । पार्टी सभापतिले सम्बोधन गर्ने भएपछि संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री बालेन शाह पनि बैठकमा उपस्थित थिए । ‘विपद्मा राज्य देखिएन र केही गरेन’ भन्दै उठिरहेका चौतर्फी प्रश्नहरूको सभापति लामिछानेले कडा रुपमा प्रतिरक्षा गरे । तर, आफ्नै पार्टीका सांसदहरूले सदनमा चर्को रूपमा उठाइरहेको जेनजी आन्दोलनको मर्म र न्यायको विषयमा भने उनले कुनै शब्द खर्चेनन् ।
सदनलाई सम्बोधन गर्दै लामिछानेले गत भदौ १० गतेको विनाशकारी बाढीलाई उच्च प्राथमिकताका साथ उठाए । राज्य यतिबेला कहालीलाग्दो भग्नावशेष र सुरुङभित्र आफ्ना नागरिकको प्राणको खोजीमा जुटिरहेको उनको दाबी थियो ।