Breaking

पुरानाकै पारामा रवि–बालेन, ओली क्याबिनेटकै झल्को, दुईतिहाइको फुर्ती–खोइ काम ? मन्त्री बद्नाम (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– प्रश्न उठाउँदा–उठाउँदै एक्कासि जवाफ दिने ठाउँमा पुगेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई अहिले आफ्नै प्रश्न गलपासो बनेको छ । सुरुका तीन वर्षदेखि उठाइएका हरेक प्रश्न अहिले रास्वपामाथि नै बज्रिरहेका छन् । ग्यासको लाइनदेखि मन्त्रीको मस्ती, अनि अभिव्यक्तिका साथै सदनमा हुने उपस्थिति— यी सबैबारे विगतमा रास्वपाले उठाएका प्रश्नकै घेरामा अहिले ऊ आफैँ घेरिएको छ । ‘३५ वर्ष पुरानाले देश लुटे’ भन्नेहरूकै हातमा देश पुगेको साढे चार महिना बितिसक्दा पनि देखाउनुपर्ने सकारात्मक सङ्केत नदेखिएको भन्दै प्रश्न उठ्न थालेका छन् । राष्ट्रियताका सवालमा खरो देखिने रास्वपामाथि सुरुदेखि नै राष्ट्रियताकै विषयमा प्रश्न उठ्दै आएको छ । छिमेकीले नेपाली भूभाग मिच्दा राष्ट्रियताप्रति खरो उत्रिने रास्वपाका नेता तथा सांसदहरू अहिले चुच्चे नक्सासहित पटक–पटक नेपाली भूभाग सुस्तामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले बुट बजार्दै त्यहाँका नेपालीमाथि गर्ने ज्यादतीमा मूकदर्शक बनिरहेका छन् । अझ नेपाली जमिन लिपुलेकको बाटो हुँदै भारत र चीनले व्यापार गर्दा पनि सदनमा सत्तापक्षका सांसदबाट त्यसउपर सुनिनुपर्ने आवाज सुन्न पाइएको छैन । जसले गर्दा हिजोका दिनमा चुच्चे नक्साको सवाल उठाउनेहरूमाथि अहिले त्यही विषय भारी पर्दै छ । पुराना राजनीतिक दलले राहदानीको समस्या हल गर्न नसकेको भन्दै घर–घरमा पु¥याउने वाचा गरेको रास्वपाकै सरकारको पालामा, हप्ता दिनसम्म आफैँ धाउँदा पनि राहदानी पाउन मुस्किल भइरहेको छ । जसले गर्दा नागरिकको सास्तीका बारेमा पटक–पटक पुराना दलमाथि प्रश्न तेस्र्याउँदै आएको रास्वपालाई अहिले नागरिकले राहदानीसँगै अस्पतालको सेवा लिने र एक सिलिन्डर ग्यास प्राप्त गर्न भोग्नुपरेको सास्तीले गिज्याइरहेको छ ।