देश

देउवाको तोप शशांकको काँधमा, हिन्दू र कांग्रेसकै कमान्डर, बालेन–गगनसँग कसरी भिड्लान् ? (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– नेपाली कांग्रेसको महामन्त्री बन्दादेखि चार पटकसम्म सांसद हुँदासमेत नदेखिएको डा. शशाङ्क कोइरालाको सक्रिय रूप अहिले पछिल्लो १० दिनमा देखिएको छ । कोही कसैप्रति कटाक्ष र आरोप नगर्ने उनको स्वभावमा कांग्रेसको इतर पक्षको राष्ट्रिय भेलासँगै परिवर्तन आएको छ । शान्त र शालीन शैलीका डा. शशाङ्क अहिले राष्ट्रिय सम्मेलनको संयोजक नै भइसकेपछि एकपछि अर्को गर्दै ‘फायर’ खोलिरहेका छन् । निवर्तमान सभापति शेरबहादुर देउवाको उत्तराधिकारी नै डा. शशाङ्क तोकिएको अवस्थामा पार्टीकै नेतृत्व गर्न तम्सिएका उनी पार्टीकै दोस्रो खेमामा रहेका नेतादेखि सरकारमाथि पनि आक्रामक देखिन थालेका छन् । ६८ वर्षमा लागिसकेका डा. कोइराला कांग्रेसको भविष्य सुनिश्चित हातमा हस्तान्तरण गर्न नयाँलाई तयार पार्नुपर्ने भन्दै आफू सुन्दर हुन अरूलाई कुरूप बनाउनु नपर्ने तर्क गर्छन् । तर, आफैँ भने पार्टीका सभापति गगन थापामाथि व्यङ्ग्य गर्न पछि पर्दैनन् । गगनलाई गाली गरेर महत्त्व दिनुभन्दा केही नबोल्दा नै उनको अपमान हुने भन्दै बीपीपुत्रले चातुर्यपूर्ण टिप्पणी गरेका छन् ।