देश

देउवाको ‘हिन्दू’ अडान, गगन अप्ठ्यारोमा, शशांक नै कमान्डर, कड्किए निधि, काउन्टरको तयारीमा सानेपा (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फर्किंदै गर्दा उनले दुई चिरा परेको कांग्रेसलाई एक बनाउँछन् भन्ने धेरैले अपेक्षा गरेका थिए । तर त्यसो हुन सकेन, बरु उनी कुनै एक समूहको भेलालाई सम्बोधन गर्न पुगे । त्यति मात्रै होइन, एयरपोर्टमा ओर्लिंदै गर्दा नरम देखिएका उनी कांग्रेस इतर पक्षको सम्पर्क कार्यालयमा पुग्दा गरम रुपमा प्रस्तुत भए । विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन भए पनि सर्वोच्च अदालतले निस्सा जारी गरेसँगै सक्रिय राजनीतिबाट सन्यासको घोषणा गरेका उनी कांग्रेस सभापतिकै रूपमा सभापति गगन थापालाई काउन्टर दिइरहेका छन् । देउवाको प्रमुख आतिथ्यतामा भएको संस्थापनइतर पक्षको राष्ट्रिय भेला ‘राष्ट्रिय सम्मेलन’मा परिणत भयो । यो सम्मेलनले दिएको एउटा सन्देश के हो भने १४औँ महाधिवेशनको कार्यसमिति नै आधिकारिक हो, अर्थात् देउवाको नेतृत्वमा नै १५औँ महाधिवेशन गर्ने भन्ने हो । त्यस्तै देउवाको निर्देशनमा अहिलेका राष्ट्रिय सम्मेलन संयोजकले नै महाधिवेशनको संयोजन गर्ने निर्णयसमेत पारित गरेको छ । देउवा पक्षीय कांग्रेसको नेतृत्व बीपी पुत्र शशांक कोइरालालाई दिनु र अबको देउवाको उत्तराधिकारी पनि उनै शशांक रहेको सन्देश सम्मेलनले दिएको छ ।