देश

पत्रकार किशोरको हातमा हतकडी, दरबारदेखि रास्वपासम्म भिडन्त, गृहमन्त्रीको तारो, चौतर्फी आलोचना (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– नेपाली पत्रकारितामा सत्ता र शक्तिको केन्द्रमा रहेकाहरूको बेथिति उजागर गर्ने एउटा नाम हो, किशोर श्रेष्ठ । पञ्चायत, प्रजातन्त्र, लोकतन्त्रदेखि संघीय गणतन्त्रसम्म आइपुग्दा सदाबहार सशक्त प्रतिपक्षीको भूमिकामा पत्रकारिता गर्दै आएका व्यक्ति, जसको विगत चार दशकदेखि नेपाली पत्रकारिता क्षेत्रमा छुट्टै पहिचान छ । जो राजदरबारको ‘गसिप’ देखि रास्वपाको शक्तिशाली सरकारसम्म आइपुग्दा राज्यसत्ताका लागि ऐजेरु बनेर पत्रकारिता गरिरहेका छन् । सनसनीपूर्ण, आक्रामक र खोजमूलक समाचार ब्रेक गर्ने उनको शैलीले राज्यसत्तालाई सधैं हायलकायल बनाउँदै आएको छ । तर चार दशकदेखि सत्ता र शक्तिलाई निर्भयताका साथ खबरदारी गर्दै आएका जनआस्था साप्ताहिकका सञ्चालक तथा प्रधान सम्पादक समेत रहेका वरिष्ठ पत्रकार श्रेष्ठलाई बालेन्द्र शाह नेतृत्वको सरकारले गिरफ्तार गरेको छ । वैयक्तिक गोपनीयतासम्बन्धी कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौंले बुधबार साँझ उनलाई ललितपुरको कुसुन्तीस्थित आफ्नै निवासबाट पक्राउ गरेको हो । यति मात्र नभएर उनी नेतृत्वको जनआस्था साप्ताहिकको कार्यालय र उनको निजी निवासमा प्रहरीले छापा समेत मारेको छ । जहाँ राजतन्त्रको झल्को दिनेगरी गृहमन्त्रीको आदेश भन्दै प्रहरीले हातहतियारसहित जनआस्थाको कार्यालयबाट कम्प्युटरका सीपीयू, मोनिटर, ल्यापटप र मोबाइललगायतका महत्त्वपूर्ण डिभाइसहरू जफत गरेको छ ।