देश

संकटमा गगन–विश्व, देउवा र रविकै सेटिङ, शशांकको कमान्डले बढ्यो दबाब, खोसिँदैछ रुख ? (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– नेपाली कांग्रेसको आधिकारिकताको विषयमा स्वयं प्रधानन्यायाधीशले चासो देखाएपछि सभापति गगन थापा पक्ष अतालिएको छ । सरकारले वरिष्ठताक्रम मिचेर बनाएका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माकै चासोपछि कांग्रेसको आधिकारिकताको विषयलाई लिएर अहिले छटपटी मात्रै होइन, नेताहरू आक्रामक देखिँदै आएका छन् । यता निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले आधिकारिकतामा कुनै शंका नरहेको अभिव्यक्ति दिँदै आएपछि संस्थापन पक्ष झनै झस्केको छ । गगन पक्षले अहिले देउवालाई आधिकारिकता दिन रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाह नै सक्रिय भएको आरोप लगाइरहेको छ । उनीहरूले सरकारले विदेशमा रहेका देउवाका लागि रेड कार्पेट बिछ्याएको सम्मका आशंका व्यक्त गरिरहेका छन् । राजनीतिमा आफ्नो छुट्टै छवि बनाएका आफ्नै शीर्ष नेता स्वदेश फर्कंदा उनीहरूले गर्ने यस्ता आशंकाले उनीहरूको नियतमाथि नै प्रश्न उठ्न थालेको छ । के उनीहरू पनि देउवा स्वदेश नफर्किउन् र फर्किहाले पनि पक्राउ परुन् भन्ने चाहन्छन् ? यो प्रश्न संस्थापन पक्षमाथि उठ्न थालेको छ । संस्थापन पक्षले गरेको आशंकामा बल पुग्ने केही पाटाहरू पनि छन् । देउवा दम्पतीलाई पक्राउ गर्न रेड नोटिस नै जारी गर्ने तयारीपछि अदालतले पक्राउ नगर्न दिएको आदेश र उनी नेपाल फर्केको भोलिपल्ट नै इतर पक्षले राष्ट्रिय भेला आयोजना गर्नुले यसमा बल पुर्याएको छ ।