देश

रवि–बालेन ः बालुवाटारको प्लान, कोर टिमदेखि मन्त्रीको समीक्षा, एकाएक फेरियो सांसदका बोली (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– पछिल्लो समय प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेबीच देखिएको असमझदारी र सरकारको असक्षमताले दुईतिहाइ नजिक जनमत भएका प्रधानमन्त्रीलाई एक्लो बनाइदियो । केही समययता सरकारका कामकारबाहीमा देखिएको असन्तुलनका कारण जनस्तरबाटै उत्पन्न नैरास्यता र आक्रोशले प्रधानमन्त्री बालेन्द्र शाहलाई हैरान बनाइदिएको थियो । यस्तो बेला आफ्नै पार्टीका सांसदहरू सदनमा प्रतिपक्षभन्दा कडा रूपमा प्रस्तुत हुन थालेपछि चौतर्फी दबाबमा परेका बालेनले एक्लिएको महसुस गरे । जुन कुरा सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमा व्यक्त गरे । झण्डै दुईतिहाइ नजिक बहुमतसहित राज्यसत्ताको नेतृत्व गरिरहेका शक्तिशाली प्रधानमन्त्रीले ‘एक्लिएको’ अभिव्यक्ति दिनु आफैँमा असामान्य कुरा हो । जसले राजनीतिक वृत्तमा एक किसिमको तरंग नै पैदा गर्यो भने सरकारविरुद्ध जनस्तरबाटै बढ्दो आक्रोश र आफ्नै पार्टीभित्र चर्किएको शीतयुद्धले फत्रक्कै गलेका बालेनलाई भेट्न रास्वपा सभापति लामिछाने आइतबार साँझ बालुवाटार पुगे । सरकार गठन भएदेखि दोस्रो पटक बालुवाटार पुगेका लामिछाने र प्रधानमन्त्री शाहबीच करिब ४५ मिनेट कुराकानी भयो । पछिल्लो समय उत्पन्न परिस्थिति र रवि–बालेनबीच बढिरहेको असमझदारीका बीच भएको यो भेटलाई राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ । पछिल्लो राजनीतिक परिस्थिति, सरकार सञ्चालन, पार्टीका पदाधिकारी मनोनयन, राजदूत नियुक्तिलगायत विषयमा छलफल भएको बताइन्छ ।