देश

गृहमन्त्री सुधनको सनक, जवाफमै हप्काए, कांग्रेसले थर्काएपछि लुरुक्क भएर मागे माफी, चौतर्फी दबाबमा (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– गृहमन्त्री सुधन गुरुङको खटाइलाई हेर्दा लाग्छ, उनी जस्तो सक्रिय र जोसिलो मन्त्री वर्तमान बालेन्द्र शाहको क्याबिनेटमा अरु कोही छैनन् । हरेक घटनामा उनी जति संवेदनशील देखिन्छन्, त्यति नै उनको शंका प्रवृत्तिले आलोचित पनि बन्ने गरेका छन् । बिहीबार राष्ट्रिय सभामा सांसदसँगको प्रश्नोत्तरमा सहभागी भएका गृहमन्त्री गुरुङले त्यस्तै प्रवृत्ति देखाए । जसका कारण उनले माफी माग्नु पर्ने अवस्था सिर्जना भयो । प्रश्नकर्ता सांसदसँग केही समय सवालजवाफ चल्ने क्रममा उनले कतिपय प्रश्नको उत्तर नै दिएनन्, बरु उल्टै प्रतिप्रश्न गरे । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको प्रकरणबारे छानबिनको प्रक्रियालाई लिएर नेपाली कम्युनिस्ट पार्टीका सांसद विष्णुबहादुर विश्वकर्माले प्रश्न उठाएका थिए । तर, उक्त प्रश्नमाथि उल्टै प्रतिप्रश्न गर्दै गृहमन्त्री गुरुङले यो विषय अत्यन्त संवेदनशील रहेको र सदनमा यस विषयमा प्रश्न नउठाउन सांसदहरूलाई आग्रह गरे । साथै, उनले सरकारले अपराधका घटनामा सूक्ष्म तरिकाले अनुसन्धान गरिरहेको बताए पनि विस्तृतमा जानकारी दिन इन्कार गरे । यति मात्र नभई, उनले ‘तपाईहरु सत्तामा हुँदा किन काम नगरेको ?’ भन्दै सांसद विश्वकर्मालाई नै प्रतिप्रश्न गरे ।