देश

ओलीलाई आफ्नै नेताको काउन्टर, प्रदेशको सरकारमा सास्ती, प्रचण्ड निकट नेतालाई समेत हैरानी (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– गत वर्षको भदौमा भएको जेनजी आन्दोलन र फागुन २१ को निर्वाचनपछि फेरिएको नेपालको राजनीतिक परिदृश्यले सबैभन्दा बढी कसैलाई क्षति पु¥याएको छ भने ती पुराना दलहरूलाई नै हुन् । र, व्यक्तिगत रूपमा सबैभन्दा बढी क्षति कसैको भएको छ भने ती हुन् एमाले अध्यक्ष केपी शर्मा ओली । यही अवधिमा देशको शक्तिशाली कार्यकारी प्रमुखबाट हिरासतसम्मको यात्रा तय गर्नुप¥यो । प्रधानमन्त्रीको कुर्सीबाट बहिर्गमन, जनस्तरबाटै पैदा भएको असन्तोष, निर्वाचनमा शर्मनाक हार र बालेन सरकारको गिरफ्तारीले ओलीलाई ठूलो राजनीतिक संकटतर्फ धकेलिदिएको थियो । तर यसका बाबजुद पनि ओलीले छोटो समयमै आफूलाई राजनीतिक मञ्चको केन्द्रबिन्दुमा उभ्याउन सफल भए । बालेन सरकारका कारण उत्पन्न असन्तोषलाई राजनीतिक रूपमा उपयोग गर्दै आफूलाई पुनर्जागृत गर्न खोजेका थिए । तर पार्टीभित्रै चर्किएको नेतृत्व हस्तान्तरण र पार्टी पुनर्गठनको बहसका कारण अहिले ओली मात्रै नभएर सिङ्गो एमाले नै रणभुल्लमा परेको छ । जहाँ बालेन सरकारले दिएको प्रतिशोधपूर्ण झमेला र आफ्नो स्वास्थ्य उल्झनलाई पन्छाउँदै राजनीतिक विरासत फर्काउन लागिपरेका ओलीलाई अहिले उनकै पार्टीका नेताहरू गलपासो बनिरहेका छन् ।