प्रधानमन्त्री बालेन शाहले सक्रियता बढाउँदा सरकारका मन्त्री भने गुमनामजस्तै छन् । विभिन्न क्षेत्रका विज्ञ, व्यवसायी, नागरिक समाजका प्रतिनिधि तथा सरोकारवालासँग लगातार छलफल गर्दै उनले सरकारको प्राथमिकता र सुधारका एजेन्डालाई अघि बढाइरहेका छन् ।
तर सरकार बनेको एक सय दिन बित्दा नयाँ डेडलाइन समेत दिन सकेको छैन । यता मन्त्रीहरू भने कता छन् भनेर टर्च बालेर खोज्नुपर्ने अवस्था बनेको छ । प्रधानमन्त्रीको सक्रियतासँगै सरकारका अधिकांश मन्त्रीहरूको सार्वजनिक उपस्थिति भने निकै कमजोर देखिन्छ ।
धेरै मन्त्रीहरू आफ्नो मन्त्रालयका काम, नीति तथा उपलब्धिबारे सार्वजनिक रूपमा देखिन सकेका छैनन् । सरकारमा प्रधानमन्त्री मात्रै सक्रिय र मन्त्रीहरू गुमनामजस्तै बनेका छन् । सरकारका मन्त्रीहरूमध्ये सबैभन्दा बढी आलोचनाको केन्द्रमा अर्थमन्त्री स्वर्णिम वाग्ले छन् । शिक्षा र स्वास्थ्य क्षेत्रमा कर लगाउने निर्णय सार्वजनिक भएपछि चौतर्फी विरोध भयो । त्यसपछि प्रधानमन्त्रीले उक्त करसम्बन्धी निर्णय फिर्ता गराए ।
यस घटनाले अर्थ मन्त्रालय र प्रधानमन्त्रीबीच समन्वयको प्रश्नसमेत उठाएको छ । यसबीचमा अर्थमन्त्री वाग्ले र पार्टी सभापति रवि लामिछानेबीच काभ्रेस्थित एक रिसोर्टमा बासै बस्ने गरी भेटवार्ता भयो, त्यसयता वाग्ले सार्वजनिक रूपमा खासै सक्रिय देखिएका छैनन् ।


प्रतिक्रिया