देश

ज्ञानेन्द्रको जापान काण्ड, खुस्बुको साहस, रवि–बालेनलाई ललकारे, अरिंगाल बने घण्टी प्रेमी, कुटपिटकै धम्की (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– संसद्को सबैभन्दा कान्छो दल राप्रपाले झन्डै दुई–तिहाइ जनमत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई हायलकायल पारिरहेको छ । जम्मा ५ जना सांसद रहेको राप्रपाका दुई सांसद ज्ञानेन्द्र शाही र खुस्बु ओलीले संसददेखि अन्य कार्यक्रममा प्रधानमन्त्री, रास्वपा सभापतिदेखि सामान्य रास्वपाका कार्यकर्तालाई एकै डालोमा हालेर सबक सिकाइरहेका छन् । अहिले राप्रपा रास्वपासँग भिड्न तयार देखिएको छ । रास्वपालाई पनि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसभन्दा राप्रपाका प्रश्नले बढी बिच्क्याइरहेको छ । राप्रपाका संसदीय दलका नेता रहेका ज्ञानेन्द्र शाहीले सरकारको जग हल्लाउने गरी निरन्तरको खबरदारी बुलन्द बनाउँदै आएका छन् । शाही दुई–तिहाइको सरकारलाई धर्मराउने गरी जबरजस्त ढङ्गले उभिरहेका छन् । सुकुम्बासीमाथि गरिएको ज्यादती, सवारी दुर्घटनापछि राज्यको भूमिका, नागरिकमा देखिएको निराशा र आत्मदाहसँगै राज्यले सिर्जना गरेको आतङ्कबारे सरकारमाथि ज्ञानेन्द्र सबैभन्दा खरो उत्रिने गरेका छन् । संसद्मा मात्र होइन, शाहीले विदेशी मञ्चबाट पनि रास्वपाको खोइरो खनिरहेका छन् । उनले विशेष गरी सामाजिक सञ्जालमा अराजकता प्रकट गर्ने रास्वपाका समर्थकलाई नमज्जाले पाठ पढाइरहेका छन् ।