काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अधिकांश सांसदहरू यतिखेर आफ्नो निर्वाचन क्षेत्रमा पुगिरहेका छन् । सरकारले विधेयक तथा अन्य कार्यसूची उपलब्ध गराउन नसकेपछि बिजनेसविहीन भएर संसद् बैठक बस्न नसक्दा उनीहरूको प्राथमिकतामा मतदाता परेका हुन् । संसद् बैठक नचलेको समयको सदुपयोग गर्दै मतदातामाझ पुगेका उनीहरू स्थानीय समस्या बुझ्न केन्द्रित छन् । गृहमन्त्री सुधन गुरूङ पनि यतिखेर आफ्नो चुनावी क्षेत्र गोरखा पुगेका छन् । घरदैलो गर्दै मतदाताका कुरा सुनिरहेका उनी भेटघाट तथा जनगुनासो सुन्नमा व्यस्त छन् । स्थानीयका गुनासा, सुझाव र विकासका विषयमा प्रत्यक्ष रूपमा संवाद गरिरहेका उनले ज्येष्ठ नागरिकहरूबाट आशीर्वाद समेत लिइरहेका छन् ।
गृहमन्त्री गुरूङ मात्र होइन, उनी जस्तै अन्य मन्त्रीहरू पनि आफूलाई निर्वाचित गराउने क्षेत्रमा पुगिरहेका छन् । मन्त्रालय नै थपेर विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्ने सौभाग्य पाएका महावीर पुन पनि म्याग्दी पुगेका छन् । मन्त्री भएपछि पहिलो पटक आफ्नो गृहजिल्ला म्याग्दी पुगेका पुनले बेनी–दरबाङ सडकखण्ड अन्तर्गत पर्ने फापरखेतको पहिरो अनुगमन तथा निरीक्षण गरे । वर्षौंदेखि दुःख दिँदै आएको उक्त सडकको फापरखेत पहिरो नियन्त्रणका लागि चालु आर्थिक वर्षमा सङ्घीय सरकारबाट चार करोड रुपैयाँ बजेट व्यवस्थापन भएकाले एक वर्षभित्र नियन्त्रण गर्ने आश्वासन उनले दिएका छन् ।
देश


प्रतिक्रिया