देश

बालेन सरकारलाई रवि टिमकै काउन्टर, महामन्त्रीको सदनमै उद्घोष, रमेशदेखि सुलभसम्मको चेतावनी (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को झन्डै दुई–तिहाइको सरकारले १०० दिन पूरा गरेसँगै सिंहदरबारभित्र होस् वा बाहिर, नागरिक स्तरबाटै सरकार ‘तमासा देखाउन उद्यत’ भएको भन्दै आलोचना हुन थालेको छ । पछिल्लो समय सञ्चारगृहको गेटमा गाडी तेस्र्याएर सिर्जना गरिएको त्रास, गणेश नेपाली लगायतका युवाले गरेको आत्मदाह र सुकुम्बासी नागरिकले पाएको सास्ती तथा मन्त्रिमण्डलका सदस्यका कामकारबाहीलाई लिएर प्रतिपक्षी दलका सांसदहरूले सडकदेखि सदनसम्म आलोचना गरिरहेका छन् । सरकारको कार्यशैली र जनजीविकाका सवालमा सरकारलाई सचेत गराउनु र झकझकाउनु प्रतिपक्षी दलको कतव्र्य पनि हो । तर पछिल्लो एक सातालाई हेर्ने हो भने बलियो सरकारको कार्यशैलीलाई लिएर सत्तारूढ रास्वपाभित्रै असन्तुष्टि तीव्र बनेको छ । सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाह र मन्त्रीहरूको कार्यशैली, सरकारका कदम र जनताका समस्यामाथि प्रतिनिधिसभा बैठक, संसदीय समितिहरू र सामाजिक सञ्जालमा आफ्नै सरकारविरुद्ध आवाज उठाउन थालेका छन्  । यो असन्तुष्टि केवल सामान्य मतभेद मात्र नभएर पार्टीभित्रको आन्तरिक शक्ति संघर्ष र जनसरोकारका मुद्दाहरूसँग जोडिएको छ ।