देश

बालेन–सुधनविरुद्ध नयाँ जेनजीको मोर्चा, माजिद र रक्षाकै काउन्टर, सरकार सच्चिने कि रास्वपा सकिने ? (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– बालेन्द्र शाहको राष्ट्रिय राजनीतिमा चामत्कारिक उदयदेखि राज्यसत्ताको नेतृत्वसम्म पुग्नुमा सबैभन्दा ठूलो भूमिका कसैको थियो भने त्यो हो– गत वर्ष भदौमा भएको जेनजी आन्दोलन । विभिन्न जेनजी समूह र अभियन्ताहरूबाट छेडिएको यस्तो विद्रोह, जसले २४ घण्टामै देशलाई राज्यविहीनताको अवस्थामा पु¥याएको थियो, जसमा वर्तमान प्रधानमन्त्री बालेन्द्र शाह प्रत्यक्ष वा परोक्ष रूपमा जोडिएका थिए । त्यही आन्दोलनकै बलमा बालेन्द्र शाह एकाएक राष्ट्रिय राजनीतिदेखि शक्तिकेन्द्रको केन्द्रबिन्दुमा आइपुगे । जहाँ उनी जेनजी आन्दोलनको ६ महिनापछि देशको शक्तिशाली प्रधानमन्त्रीसमेत बन्न सफल भए । यति छोटो समयमै शाहलाई यहाँसम्म पु¥याउने आधार त्यही जेनजी आन्दोलन र जेनजी युवाहरू नै थिए । तर, विडम्बना नै भन्नुपर्छ, जसले देशको प्रधानमन्त्री बन्ने प्रस्थानबिन्दु निर्माण गरिदिएको थियो, आज त्यही समूह प्रधानमन्त्री बनेको केही महिनामै उनीविरुद्ध उभिइरहेको छ । अर्थात्, प्रधानमन्त्री शाहको शासकीय कार्यशैली र कदमविरुद्ध जेनजी अभियन्ताहरू सडकमा उत्रिन थालेका छन् । यति मात्रै होइन, उनीहरूले प्रधानमन्त्री शाहको राजीनामासमेत मागिरहेका छन् ।