देश

बालेनको शैलीले हैरान रवि, नसच्चिए नयाँ कदम, ४ महिनामै सत्ताको ल्याङल्याङ, दोषको भारी रविमाथि (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– सरकारले आफ्नो ‘हनिमुन पिरियड’ पूरा गरेको छ । देशको प्रधानमन्त्री अर्थात् सरकार प्रमुख बालेन शाह छन् । तर सरकारको कामको जस–अपजसको सामना भने सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले गर्नु परिरहेको छ । सरकारले ल्याएको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरिरहेको बेला प्रधानमन्त्री शाहले बीचैमा संसद् बैठक बंक हाने । आफैँले ल्याएको नीति तथा कार्यक्रम राष्ट्रपतिले पढिरहँदा बैठक छोडेर हिँड्नुलाई संसदीय मर्यादासँग जोडेर आपत्ति जनाइयो । तर त्यसको सामना सभापति रविले गर्नुपरेको थियो । सरकार बनेपछि लामो समयसम्म पनि देश र जनतालाई सम्बोधन नगरेका तर एकैपटक संसदमा पुगेर प्रधानमन्त्री बालेन जेठ १७ गते सांसदसँगको प्रश्नोत्तरमा सहभागी भए । तर उनको पहिलो सम्बोधन नै विवादित बन्यो । संसदीय अभ्यासविपरीत कुनै सिनेमाभन्दा फरक नपर्ने शैलीमा सहभागी भएका बालेनले सीमासम्बन्धी विषयमा विवादित अभिव्यक्ति दिए । नेपालले पनि भारतको भूमि मिचेको रहेछ भनेर उनले विवादित अभिव्यक्ति दिएका थिए । त्यसपछि सरकार र प्रधानमन्त्री बालेनको चौतर्फी आलोचना भयो ।