देश

रविको प्रतिवेदनको चिरफार, रास्वपाको रफ्तार, एमालेलाई झटारो, प्रचण्डको युद्ध बेकार, अब प्रत्यक्ष कार्यकारी (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा सभापति रवि लामिछानेले पेस गरेको राजनीतिक प्रतिवेदनबारे विभिन्न कोणबाट बहस र विश्लेषण हुन थालेको छ । २३ पृष्ठ लामो उक्त प्रतिवेदनमा ‘समानता, न्याय र सुशासन, नयाँ युगको सङ्कल्प’ मुख्य नारा दिइएको छ । प्रतिवेदनमा पार्टीको गठनदेखि हालसम्मको समीक्षा, नयाँ वैचारिक नीति (सामाजिक लोकतन्त्र) र शासकीय सुधारका एजेन्डाहरूलाई विस्तृत रूपमा समेटिएको छ । यस प्रतिवेदनमार्फत रास्वपाले आफ्नो दलीय दृष्टिकोण, मार्गचित्र र वैचारिक नीतिमा केही महत्त्वपूर्ण र नवीन परिवर्तनहरू ल्याएको छ । प्रतिवेदनमा सत्ता केन्द्रित राजनीति, भ्रष्टाचार, जवाफदेहिताको अभाव, अवसरवाद र बिचौलियाको प्रभावले लोकतन्त्र कमजोर बनेको उल्लेख गर्दै रास्वपाले प्रणाली सुधार, पुनःसंरचना र शुद्धीकरणको लक्ष्य लिएको जनाएको छ । सभापति लामिछानेले वैकल्पिक राजनीतिक शक्तिका लागि जनमत तयार भइसकेको र स्थापित दलहरू ‘फोहोरका थुप्रा’मा परिणत भइसकेको टिप्पणी गरेका छन् ।
रास्वपाको स्थापनाकालमा ‘संवैधानिक समाजवाद’लाई पार्टीको मार्गदर्शक सिद्धान्त मानिए पनि यस विषयमा उठ्दै आएका प्रश्नहरूको निरूपण गर्दै सभापति लामिछानेको प्रतिवेदनले ‘सामाजिक लोकतन्त्र’को सैद्धान्तिक अवधारणा अघि सारेको छ ।