देश

रवि–बालेनको परीक्षा, फेल भए गगनलाई मौका, फर्किएला कांग्रेसको विरासत ? यस्ता छन् चुनौती (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– एक वर्ष अघिसम्म केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली राजनीतिका ‘गेम चेञ्जर’ थिए । सत्ताको साँचो ओली, देउवा र प्रचण्डसँग हुँदा राष्ट्रिय राजनीतिको भविष्य निर्धारण मात्र होइन, उनीहरूलाई राजनीतिको ‘इपी सेन्टर’ नै मानिन्थ्यो । तर, यो एक वर्षको अवधिमा बागमतीमा धेरै पानी बगेको छ । नेपाली राजनीतिको कोर्स ‘करेक्सन’ भएर नयाँ शिराबाट सुरु भएको छ, जसको पहिलो अध्यायमा ओली, देउवा र प्रचण्डको सट्टा रवि, बालेन र गगनको नाम आउन थालेको छ । कुनै बेला ओली, देउवा र प्रचण्ड रहेको ‘इपी सेन्टर’ अहिले रवि, बालेन र गगन बनेका छन् । आइतबार चितवनको भरतपुरमा आयोजित रास्वपाको पहिलो महाधिवेशनको उद्घाटन सत्रमा देखिएको दृश्यले यसलाई थप प्रमाणित गरेको छ ।
रास्वपा सभापति रवि, प्रधानमन्त्री बालेन र नेपाली कांग्रेसका सभापति गगन एउटै मञ्चमा देखिँदा कार्यक्रमका मुख्य आकर्षण उनीहरू नै बने । महाधिवेशनस्थल पुगेका अधिकांश सहभागी तथा विभिन्न माध्यमबाट प्रत्यक्ष प्रसारण हेरिरहेकाहरू यिनै तीन नेताको भाषण सुन्न आतुर थिए । यसले नेपालको आगामी राजनीतिको केन्द्रमा यिनै तीन नेता रहने प्रष्ट पारेको छ ।