काठमाडौं– पछिल्लो दुई दिनदेखि सिंहदरबार र सदनको ढोका बन्द गरेर देश विकासको खाका कोर्नुभन्दा पहिले पार्टीको रूपरेखा कोर्न सिङ्गो रास्वपा चितवनमा केन्द्रित भएको छ । अहिले मन्त्रालयमा नवप्रवर्तन मन्त्री महावीर पुन बाहेक अरु कुनै मन्त्रीहरु भेटिँदैनन् । सत्तारूढ दल रास्वपाले चितवन महाधिवेशनबाट काठमाडौँ फर्किंदा सरकार सञ्चालन गर्ने थिति र नीति अझ मजबुत बनाएर ल्याउँछ कि गुट उपगुटमा फसेर फर्किन्छ भन्ने मुख्य प्रश्न उब्जिएको छ । यदि चितवन महाधिवेशनबाट गुट–उपगुटको बिउ रोपिएर रास्वपा काठमाडौँ फर्कियो भने सरकार सञ्चालन झनै कठिन हुन सक्छ । तर चितवनमा प्रधानमन्त्री बालेन्द्र शाह र पार्टी सभापति रवि लामिछानेको आँखा र भाका दुवै मिलेको देखिन्छ । पार्टीलाई शक्तिशाली बनाएपछि मात्रै सरकार शक्तिशाली हुन्छ भन्ने बुझेका दुवैले रास्वपालाई अझै शक्तिशाली बनाउन पदाधिकारी छनोटदेखि आन्तरिक व्यवस्थापनका लागि सहमतिको प्रयास जारी राखेका छन् । तर सुशासन कायम गराएरै छाड्ने वाचा गरेका प्रधानमन्त्री शाहले राज्य सम्पत्ति दोहन गर्ने र भ्रष्टाचार गर्नेलाई डण्डा चलाउने स्पष्ट संकेत गरिसकेका छन् । उनले पार्टीको महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा भ्रष्टाचार र अनियमितताविरुद्ध कदम चाल्न अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा ५ घण्टा थुनेको आफैँले पुष्टि गरे ।
देश


प्रतिक्रिया