देश

टिम छान्दै रवि, २५ सय आकांक्षी, महामन्त्रीमा चर्चितको भिडन्त, मन्त्रीलाई पार्टीको पद नदिने संकेत (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेशबाहेक सबै प्रदेशको अधिवेशन सकेर पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको छ । अधिवेशनपछि रास्वपाभित्र चर्किएको गुटगत संघर्ष र प्रदेशमा देखिएको टकरावले केन्द्रमा कसरी सहमति जुट्ला भन्ने प्रश्न उब्जिएको छ । ४ करोड खर्च गरेर भव्य रूपमा चितवनमा हुन लागेको रास्वपाको राष्ट्रिय महाधिवेशनमा पदाधिकारीको हकमा के होला भन्ने चासो बढेको छ । ‘एक व्यक्ति, एक पद’ को नीति प्रदेशमै लागू गर्न खोज्दा कतिपय बहालवाला सांसदहरू नै पराजित भएका छन् । यदि केन्द्रमा पनि यही नीति लागू गरिए, प्रधानमन्त्री बालेन शाहदेखि १७ जना मन्त्रीहरूसमेत पार्टीको पदाधिकारीबाट बाहिरिनुपर्ने हुन्छ । रास्वपाले यस्तो कदम चाल्न सक्छ कि सक्दैन भन्ने प्रश्न पेचिलो बनेको छ । प्रदेशमै सांसदहरूले हार चाखेका कारण केन्द्रीय पदाधिकारीमा उठ्न खोज्नेहरूको मुटुमा ढ्याङ्ग्रो ठोकेको छ ।