देश

रास्वपा ः भूपदेवले ल्याएको भूकम्प, ४ प्रदेशमा रविका हस्ती हराए, रास्वपामा बढ्यो बालेन पक्षको दबदबा (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं— प्रधानमन्त्री बनेका बालेन शाह ‘पोस्टर ब्वाइ’ बन्दा देशभर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा बहार आयो, तर बालेनकै स्वकीय सचिव रहिसकेका भूपदेव शाहलाई भने त्यसले छोएन । सांसद बन्ने चाहनामा अछाम २ का मतदाता बाधक बनेपछि उनको ‘माननीय’ बन्ने अवसर खेर गयो । तर, आगामी पाँच वर्षका लागि संसद् छिर्ने बाटोमा ब्रेक लागे पनि उनको राजनीतिक गतिले भने झन् रफ्तार समाएको छ । जित्ने उम्मेदवारहरू माननीय बनेर संसद् छिर्दा उनी भने पार्टीको महामन्त्रीको हैसियतमा देश दौडाहा गर्दै आफ्नो राजनीतिक आधार निर्माण गरिरहेका छन् । संसदीय चुनावको हार भूपदेवका लागि आफ्नो राजनीतिक भविष्य सुनिश्चित गर्ने धरातलमा बलियो पकड बनाउने अवसर बनेको छ । रास्वपाको खासै ठूलो सङ्गठन नभएको कर्णाली र सुदूरपश्चिममा ‘बालेन पक्ष’ आक्रामक ढङ्गले लागिरहेको स्पष्ट देखिन्छ । सुदूरपश्चिममा भूपदेवले राम्रो पकड जमाइरहँदा, झुल्के घाम र अपी हिमालको फेदीमा क्रिकेट खेलेको भिडियो राख्दै बालेन आफैँ सुदूरपश्चिमेलीको मन जित्ने प्रयास गरिरहेका छन् । कर्णालीको जिम्मा आफ्नो दूत भूपदेवको काँधमा छोडेपछि उनी कोशीपछि कर्णालीको अधिवेशन उद्घाटनमा पुगेका छन् ।