देश

अर्थमन्त्री स्वर्णिम ः राष्ट्रघात–आर्थिक अपराधको आरोप, बालेनकै नैतिकतामा प्रश्न, प्रतिपक्षलाई एजेन्डा (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नेतृत्वमा सरकार गठन भएको सय दिन पूरा भएको छैन, तर रास्वपाका सबैभन्दा अब्बल मानिएका मन्त्री नै आफ्नै गतिविधिका कारण आर्थिक अपराधी र राजद्रोही जस्तो गम्भीर आरोपको भुमरीमा फसेका छन् । सरकारका सबैभन्दा विज्ञ र अनुभवी अर्थशास्त्री भन्दै सबैको भरोसा र आशाको केन्द्र बनेका अर्थमन्त्री स्वर्णिम वाग्ले अहिले आफ्नै कार्यशैली र सत्ताको उन्मादका कारण गम्भीर आरोप खेपिरहेका छन् । सगौरव आफ्नो पहिलो बजेट प्रस्तुत गरेका वाग्ले पहिलो अवसरमै विवादमा तानिएका छन् । वाग्लेमाथि निहीत स्वार्थका लागि बजेट प्रस्तुत हुनुभन्दा अगावै करका दरसम्बन्धी सूचना चुहाएर सीमित व्यापारीहरूलाई अर्बौं रुपैयाँको कर छली गर्न ‘सेटिङ’ मिलाएको आरोप छ । संसदमा प्रस्तुत गरिएको बजेटमा उनले सीमित व्यापारी र बिचौलियाहरूलाई पोस्ने गरी करका दरमा गरेको हेरफेरले उनको छद्म रुप छताछुल्ल पारिदिएको छ । अहिले सदनमा प्रधानमन्त्री बालेन्द्र शाहको विवादित अभिव्यक्तिले निकास नपाउँदै प्रधानमन्त्रीकै ‘विज्ञ मन्त्री’ को यो कर्तुतको पनि व्यापक विरोध भइरहेको छ । सोही कारण मंगलबारको संसद बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले अर्थमन्त्री वाग्लेको राजीनामा नै मागिन् ।