देश

बालेन जोगाउने होडबाजी, सञ्जालमा भिड्छिन् ज्वाला, खगेन्द्रले मञ्चबाटै ललकारे, अरु को–को ? खुश्बुको काउन्टर (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं— पुराना दल कांग्रेस र एमालेका समर्थकलाई ‘झोले’ भन्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा समर्थकहरू आफ्ना नेताको गल्ती छोप्न राष्ट्रियतालाई दाउमा राखिरहेका छन् । अहिले प्रधानमन्त्री बालेन शाहको बोलीलाई बचाउन आशिका तामाङदेखि खगेन्द्र सुनारसम्म आफैँ नाङ्गिँदै छन् । खगेन्द्र सुनारले त ‘भारत यदि छिमेकी नभएको भए नेपाल भोकले मर्ने’ सम्मका अभिव्यक्ति दिन भ्याए । हिजो सरकारबाहिर हुँदा राष्ट्रियताको खुंखार भजन गाउने तिनै रास्वपाका सांसदलाई अहिले बालेनको बचाउमा अनेक जुक्ति निकाल्नु परिरहेको छ । पूर्वमन्त्रीसमेत रहेका रास्वपा सांसद बब्लु गुप्ताले त भारतीय नागरिकलाई नै नेपाली बनाएर सामाजिक सञ्जालमा बालेनको बचाउमा पोस्ट गर्न भ्याए । बालेनको बचाउका लागि अहिले हलुका शब्दहरू रास्वपा सांसदले प्रयोग गरिरहेका छन् । प्रतिपक्षले बालेनको अभिव्यक्तिमाथि विरोध गरेर संसद् नै चल्न नदिँदा भने रास्वपा सांसद नेपालले भारतको भूमि कहाँ–कहाँ मिचेको छ भन्दै खोजी गरिरहेका छन् ।