देश

फेरि फुट्यो राप्रपा, लिङ्देनलाई धक्का, दुर्गा र धवलको नयाँ पार्टी, पूर्वराजाको समर्थन कसलाई ? (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं— तीनकुने घटनादेखि अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवलशमशेर राणाबीच झाँगिएको असन्तुष्टि अहिले पार्टी फुटसम्मको अवस्थामा पुगेको छ । त्यसबेला नै राप्रपामा रोपिएको विभाजनको बीउ हुर्किंदै जाँदा महामन्त्री धवलशमशेर राणा नयाँ पार्टी गठन गर्ने तहसम्म पुगेका हुन् । अहिले राप्रपा भन्नेबित्तिकै खुश्बु ओली र ज्ञानेन्द्र शाहीको अनुहार धेरैको दिमागमा आउँछ । तर, जनताले पत्याएका नयाँ नेतालाई नेतृत्व दिनेभन्दा पनि राजतन्त्रकै संस्कारलाई शिरोधार्य गरेर हिँड्ने उही पुराना नेता नै नेतृत्वमा हावी भइरहेका छन् । नयाँ पुस्ता सत्ता र अन्य दलसँग जबर्जस्त भिडिरहेका छन्, तर पुरानो पुस्ता र पुरानै धङधङी बल्झिँदा पार्टी नै संकटमा परेको छ । राप्रपा महामन्त्री धवलशमशेर राणाले पार्टी परित्यागको औपचारिक घोषणा गरेका छन् । उनले अब नयाँ राजनीतिक दल गठन गर्ने घोषणा पनि गरेका छन् । राप्रपा नेतृत्वले पार्टीको मूल एजेन्डालाई जोगाउन नसकेको र आन्तरिक लोकतन्त्रलाई उपेक्षा गरेको आरोप लगाउँदै नयाँ बाटो रोज्नुपरेको राणाले बताए । नयाँ पार्टीको अवधारणा सार्वजनिक गर्दै नेता राणाले आफूले स्थापना गर्न लागेको दलको मुख्य आधार ‘राजासहितको प्रजातन्त्र’ हुने स्पष्ट पारे ।