देश

रास्वपाविरुद्ध ५ दलको मोर्चा, बालेनलाई हर्कको काउन्टर, एमाले र कांग्रेसले डीपीलाई हायलकायल पारे (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकार गठन भएको तीन महिना नपुग्दै सत्ता र प्रतिपक्षको टकराव उत्कर्षमा पुगेको छ । प्रधानमन्त्रीको पद सम्हालेपछि संसद्मा सम्बोधन नगरेको विषयलाई लिएर प्रतिपक्ष दलले पटक–पटक संसद् अवरोध गर्दै आएपछि प्रधानमन्त्री बालेन शाह बोल्न बाध्य भएका थिए । संसद्लाई पूर्वजानकारी नदिई अचानक आइतबारको बैठकमा प्रश्नोत्तर कार्यक्रममा सहभागी भएका प्रधानमन्त्री शाहको सीमा सम्बन्धी अभिव्यक्तिले सदनमा बबन्डर मच्चायो । ६ जना सांसदहरूले राखेका प्रश्नमध्ये सीमाको विषयमा जवाफ दिने क्रममा नेपालले पनि भारतको जग्गा मिचेको अभिव्यक्तिले राष्ट्रियताको एजेन्डा छेडेपछि सडकदेखि सदनसम्मै विरोध भइरहेको छ । जसले गर्दा प्रत्येक विधेयक र नियमावली नै प्रतिपक्षको घेराबन्दीमा पास गर्नुपर्ने अवस्थामा सभामुख पुगेका छन् । सदन अराजक अवस्थामा पुगेपछि आफ्नै सांसदमाथि छानबिन गर्न समिति बनाउने ‘ब्रह्मास्त्र’ चलाउनुपर्ने अवस्थामा सभामुख पुगेका छन् । पछिल्ला दिनमा यही विषयले सरकार र प्रतिपक्षबीच दूरी मात्र बढाएको छैन, उनीहरूबीचको टकराव उत्कर्षमा पुगेको छ । प्रधानमन्त्री शाहले आफ्नो अभिव्यक्ति सच्याउँदै सदनमा आएर माफी माग्नुपर्ने माग राख्दै प्रतिपक्षी सांसदहरूले मङ्गलबार पनि संसद् बैठकमा अवरोध जारी राखे । विपक्षीको अडानकै कारण मंगलबारको प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक स्थगित गर्नुप¥यो ।