देश

प्रचण्डका सारथिले जोगाए ओली, विद्याको इन्ट्रीले नयाँ हलचल, नयाँ पार्टीको खोल्ने विष्णु–शंकरको फुर्ती खोई ? (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं— नेकपा (एमाले) को सचिवालय बैठक जसरी सुरु भयो, त्यो हेर्दा लाग्थ्यो कि अब यसै बैठकबाट पार्टी नेतृत्व फेरिने छ । चुनावी नतिजापछि चौतर्फी आलोचित बनेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई हटाउन सचिवालयका पाँचमध्ये चार उपाध्यक्ष जाइलागेपछि धेरैलाई लागेको थियो कि यही बैठकले ठोस निर्णय लिनेछ । सुरुका दिनमा शीर्ष नेताहरू ओलीको सात्तो लिने गरी प्रस्तुत हुँदा अध्यक्ष सङ्कटमा परेको देखिए पनि अन्ततः निर्वाचन समीक्षा र पार्टी पुनर्गठनको सुझावसहितको प्रतिवेदन पेस गर्ने गरी गठन गरिएको कार्यदल नै बैठकको सबैभन्दा ठूलो उपलब्धि बनेको छ । ओलीसँग असन्तुष्ट पक्षहरूले नेतृत्वको विकल्प खोज्नुको साटो कार्यदल बनाएर विषयलाई पन्छाउने अस्त्र रोजेपछि, सचिवालय बैठकमा अल्पमतमा परेका ओली तत्कालका लागि सङ्कट टार्न सफल भएका छन् । उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ को संयोजकत्वमा गठन गरिएको कार्यदललाई एक महिनाको समयावधि दिइएको छ । कार्यदलले असार १० गतेसम्म सुझावसहितको प्रतिवेदन पेस गरिसकेपछि मात्र अध्यक्ष र महासचिवको परामर्शमा केन्द्रीय कमिटीको बैठकको मिति तय हुनेछ र पार्टी पुनर्गठनको विषयमा निर्णायक निर्णय गरिनेछ । यससँगै कम्तीमा पनि ओलीले आफ्नो अध्यक्ष पदको कुर्सी केही महिनाका लागि सुरक्षित गरेका छन् ।