काठमाडौं— काठमाडौंमा भइरहेको काभा महिला भलिबल च्याम्पियनसिप अन्तर्गत समूह ए को आफ्नो तेस्रो तथा अन्तिम खेलमा नेपालले आज माल्दिभ्ससँग खेल्दैछ । नेपाल र माल्दिभ्सबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा साँझ ५ बजे सुरु हुनेछ ।
नेपालले यसअघि दुई खेल खेल्दा एकमा जित र एकमा हारको नतिजा निकालेको थियो । नेपाल दुई खेलबाट ४ अंकसहित समूह एको दोस्रो स्थानमा छ । यसअघिका दुवै खेलमा पराजित माल्दिभ्स समूहचरणबाट बाहिरिसकेको छ । तुलानात्मक रुपमा कमजोर प्रतिद्धन्द्धी माल्दिभ्सलाई हराएर नेपाल सेमिफाइनल पुग्ने लक्ष्यमा छ । समूह एमा भारत ५ अंकसहित शीर्ष स्थानमा छ भने किर्गिस्तान ३ अंकसहित तेस्रो स्थानमा छ । माल्दिभ्सलाई सोझो सेटमा पराजित गरेमा नेपाल ७ अंकसहित सेमिफाइनलमा सुरक्षित हुनेछ ।
नयाँ कप्तान निरुता ठगुन्नाको नेतृत्वमा रहेको नेपाली टोलीमा यस पटक युवा खेलाडीको बाहुल्य छ । टोलीमा ६ नयाँ खेलाडी समावेश भएकोमा ५ खेलाडीले राष्ट्रिय टिममा डेब्यु गरिसकेका छन् ।


प्रतिक्रिया