काठमाडौं— बालेन्द्र शाह नेतृत्वको सरकारमा गृहमन्त्रीको दाबेदारीसहित सत्ता भागबन्डामा अन्तिमसम्म बल गरेका डोलप्रसाद अर्याल अर्थात् ‘डीपी’ अर्याल अहिले संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको सभामुखको जिम्मेवारीमा छन् । रास्वपामा हुँदा पार्टी सभापति रवि लामिछानेको छाया बनेर काम गरेका उनलाई बालेनले गृहमन्त्री बनाउन नचाहेपछि रविकै कारण उनी सभामुख बनेका थिए । तर, राज्यको प्रमुख अङ्गमध्येको एक—व्यवस्थापिकाको नेतृत्व गरिरहेका उनी अहिले रास्वपा र बालेनकै कारण प्रश्नको घेरामा परेका छन् । पहिलो संसद् अधिवेशनको ९ दिनमा ६ वटा बैठक र दोस्रो संसद अधिवेशनको ३ दिनमा ३ बैठक गरी अहिलेसम्म जम्मा ९ वटा बैठक सञ्चालन गरेका अर्याल प्रधानमन्त्री शाह र रास्वपाको कार्यशैलीका कारण आलोचित बन्न पुगेका हुन् । बुधबारको संसद् बैठक सभामुख अर्यालका लागि सबैभन्दा चुनौतीपूर्ण बन्यो, जहाँ आर्थिक वर्ष २०८३÷०८४ को नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्ने र प्रधानमन्त्री शाहले छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने कार्यसूची तय गरिएको थियो । तर, अन्तिम समयमा प्रधानमन्त्री शाहको सट्टा अर्थमन्त्री स्वर्णिम वाग्लेले संसद्मा सम्बोधन गर्ने भएपछि विपक्षी दलहरूले सदनमा हंगामा मच्चाए ।
देश


प्रतिक्रिया