देश

बालेनविरुद्ध प्रतिपक्षले आगो ओकले, रवि–बालेनलाई छैन सुन्ने फुर्सद, रास्वपालाई ज्यानमाराको आरोप (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं— सोमबारदेखि सङ्घीय संसद्का दुवै सदनको अधिवेशन सुरु भएको छ । अधिवेशन सुरु भएको पहिलो दिनको पहिलो बैठकमै प्रतिपक्षी दलहरु आक्रमक रुपमा प्रस्तुत भए । तर, दुई–तिहाइ नजिकको बहुमत प्राप्त वर्तमान सरकारका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) भने प्रतिनिधिसभाको पहिलो दिनको पहिलो बैठकमा भने उपस्थित भएनन् । प्रधानमन्त्री शाहको अनुपस्थितिबारे औपचारिक कारण कतै नखुलाइए पनि उनी बजेटको तयारी र आन्तरिक छलफलमा व्यस्त रहेकाले उपस्थित हुन नसकेको भन्दै सरकारले बचाउ गरेको छ । दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा उपस्थित भएका प्रधानमन्त्री बालेन त्यसअघि बसेको प्रतिनिधिसभाको बैठकमा भने नगएका हुन् । पहिलो पटक पूर्ण बहुमत नजिकको शक्ति सञ्चय गर्दा पनि अधिवेशनको पहिलो बैठकमा नै प्रधानमन्त्री अनुपस्थित हुनु संसद् भित्र चर्चा र आलोचनाको विषय बनेको छ । संसद्प्रति प्रधानमन्त्रीको अरुचि र डरको सङ्केतका रूपमा व्याख्या गर्दै प्रतिपक्षी दलहरूले सरकार संसद्सँग डराएको टिप्पणी गरेका छन् ।