देश

बालेनमाथि सुशीलाको बज्र, सविनासम्मै बहस, शीतलनिवासको अंगालो सपना प्रकरणले तुहियो (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं— नेपालको राजनीतिमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विकसित गरेको ‘बा’को विरासत ढाल्न निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीलाई ‘आमा’ को रूपमा स्थापित गराइएको थियो । ओलीलाई “भरौटेको मात्रै ‘बा’ भइस्” भनेका हालका प्रधानमन्त्री वालेन्द्र शाह बालेनले नै सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने जेन–जीको प्रस्तावमा हरियो झण्डा देखाएका थिए । बालेनले नै पहिलो महिला प्रधान्यायाधीश रहेकी पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्रीमा स्वीकारेपछि पहिलो महिला प्रधानमन्त्री बन्ने सौभाग्यसमेत कार्कीले प्राप्त गरेकी थिइन् । त्यहीबाट सुशीला र बालेनबीच आमा–छोराको बेजोड सम्बन्ध स्थापित भएको थियो । तर, अहिले आमा छोराको सम्बन्धमा दरार पैदा भएको छ । पटक पटक आमा भनेर सम्बोधन गरेका बालेनमाथि नै अहिले कार्की फायर बनेकी छन् । प्रधानन्यायाधीशमा वरिष्ठताको वरीयतामा रहेकी सपना प्रधान मल्ललाई किनारा लगाएर चौथो वरीयताका डा.मनोज शर्मालाई नियुक्त गरेपछि कार्कीले बालेनको कार्यशैलीप्रति रोष प्रकट गरेकी हुन् ।