काठमाडौं— सुध्रिएको भन्दाभन्दै ओरालो लागेको नेपाली कांग्रेस ‘भाले जुधाइ’ पछि थाकेको अवस्थामा छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सत्ताशक्तिको पेलानमा परेको कांग्रेस अहिले तंग्रिन खोज्दैछ । विशेष महाधिवेशनपछिको आन्तरिक रस्साकस्सीका बीच आधिकारिकताका बारेमा सर्वोच्च अदालतको आदेश आएपछि सबै पक्ष गगन थापालाई सभापति मान्न तयार भएका छन् । यसैबीच, असन्तुष्ट पक्षले नयाँ पार्टी खोल्ने हो कि भन्ने आशंका कायमै रहे पनि गगनलाई नेता स्वीकारेर अघि बढ्दा सबैलाई मिलाएर लैजाने ठूलो जिम्मेवारी अब उनकै काँधमा आएको छ । पार्टीलाई एकढिक्का बनाउन सभापति गगनले केही त्याग गर्नुपर्ने अवस्था पनि देखिएको छ । कांग्रेस अब एकढिक्का हुन्छ भन्ने संकेत संसदीय दलको नेता चयनको विषयले पनि दिएको छ । लामो समयसम्म दलको नेता चयन गर्न नसकेको भन्दै आलोचना भइरहेका बेला, अदालतको आदेशपछि असन्तुष्ट देउवा पक्षका भीष्मराज आङ्देम्बेलाई कांग्रेसले दलको नेता चयन गरेको छ । उनी दलको नेता बनिसकेपछि नेता पूर्णबहादुर खड्का र शेखर कोइरालालाई भेट्न पुगेका छन् । यसले कांग्रेस एकताको बाटोमा रहेको स्पष्ट पार्छ । दलको नेता चयनका बारेमा भइरहेका टिप्पणीलाई पार्टीले ‘परिपक्व निर्णय’ को संज्ञा दिएको छ ।
देश


प्रतिक्रिया