काठमाडौं— दुई तिहाइको बलियो सरकार चलाइरहेका प्रधानमन्त्री बालेन्द्र शाहले एक महिना बित्न नपाउँदै दुईजना मन्त्री हटाउनुपरेको छ । यी घटनाले एकातर्फ सुशासनको सवालमा शून्य सहनशीलताको नीति देखिएको छ भने अर्कोतर्फ प्रधानमन्त्रीको चयनमै प्रश्न उठाइरहेको छ । बालेन स्वयं एक तहको गति देखाउन खोजिरहेका छन् । तर, उनको गतिमा कोही कामै नगरेर त कोही चाहिनेभन्दा धेरै काम गरेर बाधक बनिरहेका छन् । त्यसमध्येका शक्तिशाली गृहमन्त्रालय सम्हालेका सुधन गुरुङकै साइनो हाई क्लास विचौलिया दीपक भट्टसँग जोडिएपछि राजीनामा दिनुप¥यो । भलै प्रश्न उठेपछि पदमुक्त गराउने सरकारको कदम आफैँमा सकारात्मक हो । योसँगै अब नयाँ गृहमन्त्री को बन्ला भन्ने चासो बढेको छ । प्रधानमन्त्री शाहले तत्कालका लागि मन्त्रालयको जिम्मेवारी आफैँसँग राखेका छन् । स्रोतका अनुसार सरकारले उनीमाथि छानबिन गर्न समिति बनाएको छ । यसको अर्थ सुधन निर्दोष देखिए फेरि पनि मन्त्रालय फर्काउने योजना रहेको बुझ्न सकिन्छ । २०७९ असारमा विचौलियाकै प्रभावका कारण करका दर हेरफेर गरेको भन्दै अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका थिए । संसदीय छानबिनमार्फत निर्दोष करार भएपछि उनी फेरि मन्त्रीको जिम्मेवारीमा फर्किएका थिए । यही मोडेल रास्वपाले पनि अपनाउन सक्ने सम्भावना प्रचुर छ ।
देश


प्रतिक्रिया