देश

गृहमन्त्री सुधनको पद जोगियो, रवि–बालेनकै साथ, कांग्रेस–एमालेको हटाउन दबाब, सिंहदरबारमा नारा (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं— जुन रफ्तारका साथ वर्तमान गृहमन्त्री सुधन गुरुङ नेपाली राजनीतिमा उदाए, लगभग त्यही गतिमा उनी विवादित पनि बन्दै गएका छन् । विगतका उनका विवादास्पद क्रियाकलापहरू पछिल्ला केही दिनदेखि दिनहुँजसो सार्वजनिक हुन थालेपछि गृहमन्त्री गुरुङ चौतर्फी घेराबन्दीमा परेका हुन् । फेवातालको अतिक्रमित जग्गामा सुधनको लगानी, मन्त्रिपरिषद्ले सार्वजनिक गरेको सम्पत्ति विवरण र सम्पत्ति शुद्धीकरणको अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहेका बिचौलिया दीपक भट्ट तथा शङ्कर ग्रुपका सुलभ अग्रवालसँगको ‘कनेक्सन’ एवं यी दुईको कम्पनीमा गरेको सेयर लगानी लुकाएको विषयले उनको गृहमन्त्री पद नै धर्मराउने संकेत गरेको छ । हाइप्रोफाइल नेतादेखि व्यवसायीसम्मलाई कानुनी फन्दामा ल्याएर वाहवाही कमाएका उनै गृहमन्त्री गुरुङको सम्बन्ध नेपाली कांग्रेसकी प्रभावशाली नेतृ आरजु राणा देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको ‘कोठा’ सम्म पहुँच राख्ने बिचौलिया दीपक भट्टसँग कहाँबाट सुरु भयो भन्ने विषय अहिले गम्भीरताका साथ उठेको छ ।