देश

कांग्रेसमा युटर्न, सात भाइ फकाउँदै गगन, जवाफ नदिए पार्टीबाट निकाल्लान् पूर्णबहादुर र कान्छारामलाई ? (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं— सर्वोच्च अदालतले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई मान्यता दिने निर्णय गरेसँगै गगन थापाको नेतृत्वले आधिकारिकता पायो । सर्वोच्चको निर्णयपछि सभापति थापाले पार्टीलाई एकढिक्का बनाउन पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग भेट गरेपछि धेरैले कांग्रेस अब मिलेर जाने र आन्तरिक द्वन्द्व सुल्झिने अपेक्षा गरेका थिए । तर, यस्तो अपेक्षाबीच अनुशासन समितिको पछिल्लो निर्णयले विवाद साम्य नभएको प्रष्ट पारेको छ । जहाँ पूर्वसभापति शेरबहादुर देउवा पक्षको बैठकले पूर्णबहादुरलाई सोधिएको स्पष्टीकरण फिर्ता लिनुपर्ने चर्चा गरिरहेको थियो, त्यहीँ उल्टै देउवा निकट मानिने पूर्णबहादुर तामाङ (कान्छाराम) लाई बोलेकै भरमा स्पष्टीकरण सोधिएपछि पार्टीभित्रको विवाद थप उत्कर्षमा पुगेको छ ।
पूर्वराज्यमन्त्री समेत रहेका कान्छारामले सभापति गगन थापासँग ३ अर्ब रुपैयाँ रहेको र १ अर्ब खर्च भए पनि २ अर्ब बाँकी रहेको बताउँदै पार्टीको आधिकारिकता गगन पक्षमै जाओस् भन्ने शुभेच्छा राखेर दिएको अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यसलगत्तै पदीय मर्यादाको ख्याल नगरी पार्टी र नेतृत्वविरुद्ध भ्रमपूर्ण एवं तथ्यहीन अभिव्यक्ति दिएको भन्दै अनुशासन समितिले उनलाई तीनदिने स्पष्टीकरण सोधेको हो ।