Breaking

गृहमन्त्री हटाउन व्यवसायीको लभिङ : दीपक भट्टसँग शेखर गोल्छाको साँठगाँठ

योहो संवाददाता

काठमाडौं । नेपाली औद्योगिक क्षेत्रको प्रतिष्ठित नाम हो– गोल्छा अर्गनाइजेसन । शेखर गोल्छा यस घरानाका पोस्टर ब्वाइको रुपमा चर्चित छन् । उद्योग वाणिज्य महासंघको पूर्वअध्यक्ष समेत भइसकेका गोल्छाको छवि बजारमा जति सभ्य र सालिन थियो, पर्दाभित्रको खेल भने उति नै धमिलो रहेको तथ्य बाहिरिएको छ । कुख्यात बिचौलिया दीपक भट्टसँगको अवैध वित्तीय सम्बन्ध र धितोपत्र बजारमा भएको म्युचुअल सेटिङले अन्ततः गोल्छाको साख मात्र गिराएको मात्र छैन, उनलाई सम्पत्ति शुद्धीकरणको कठघरामा उभ्याउने देखिएको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहेका बिचौलिया भट्टको नेटवर्क यति गहिरो छ कि त्यसले नेपालका स्थापित घरानालाई समेत संक्रामक बनाएको पुष्टि भएको छ । धितोपत्र बोर्डद्वारा गठित छानबिन समितिको प्रतिवेदनले गोल्छालाई भट्टको गैरकानूनी कारोबारमा सहयोगी मात्र होइन, कतिपय अवस्थामा दोषी नै ठहर गरेको छ ।


अनुसन्धानका अनुसार, हिमालयन रि–इन्स्योरेन्सको अध्यक्ष हुँदा गोल्छाले संस्थागत मर्यादा र कानूनको धज्जी उडाउँदै भट्टलाई पोस्ने काम गरे । संस्थाको अर्बौँ रुपैयाँ कानून विपरीत व्यक्तिगत फाइदा र शेयर बजारको कर्नरिङमा प्रयोग गर्न गोल्छाले बाटो खोलिदिएको पाइएको छ । २ अर्बभन्दा बढी रकम भट्टको नाममा शेयर खरिद गर्न प्रयोग हुनुमा गोल्छाको मौनता र सहमति दुवै देखिएको छानबिन समितिको दाबी छ ।


अनुसन्धानले अर्को एउटा डरलाग्दो तथ्य उजागर गरेको छ । भृकुटी स्टक ब्रोकिङ कम्पनीमार्फत दीपक भट्टले शेयर किन्ने तर पैसा नतिर्ने गरेको पाइयो । भट्ट र उनीसँग जोडिएका कम्पनीहरूलाई दिनुपर्ने भुक्तानी रोकेर त्यसैबाट शेयरको सेटलमेन्ट गर्ने शैली अपनाइन्थ्यो । यो संगठित वित्तीय अपराधमा शेखर गोल्छासहित सन्दीप जलान, शुभी अग्रवाल, ऋषिराज मोर र राजबहादुर शाहको एउटा बलियो घेरा सक्रिय रहेको छानबिनको ठम्याइ छ ।


यस प्रकरणमा हिमालयन रि–इन्स्योरेन्स मात्र होइन, हिमालयन क्यापसर्भ, हिमालय सेक्युरिटिज र नेपाल माइक्रो इन्स्योरेन्स जस्ता संस्थाहरूलाई समेत अपराधको हतियार बनाइएको छ । जब सम्पत्ति शुद्धीकरण विभागले भट्टमाथि अनुसन्धान थाल्यो, तब गोल्छाको साम्राज्यमा कम्पन सुरु भयो । आफू पनि पक्राउ पर्ने डरले नै गोल्छाले फागुन २५ गते हिमालयन रि–इन्स्योरेन्सको अध्यक्ष पदबाट हतार–हतार राजीनामा दिएका थिए । तर, राजीनामाले मात्रै उनको पाप पखालिने छाँट छैन । यता, कम्पनीकी सिईओ उपासना पौडेल सम्पर्कविहीन छिन् । यसले पनि यो प्रकरणमा कति ठूलो आर्थिक झोल छ भन्ने प्रस्ट पार्छ । पौडेलमाथि कम्पनीको रकम व्यक्तिगत खातामा ट्रान्सफर गरी सम्पत्ति शुद्धीकरणमा सघाएको गम्भीर आरोप छ ।
अहिले गोल्छाको दैनिकी बदलिएको छ । उनी आफूलाई पक्राउ नगर्न र अनुसन्धानमा सहयोग गर्ने भन्दै पटक–पटक केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) धाउने गरेका छन् ।


राजनीतिक पहुँच र व्यावसायिक ओहोदाको आडमा वर्षौँदेखि चल्दै आएको सेटिङको व्यवसाय अहिले धरापमा परेको छ । यही कारण अहिले गृहमन्त्री सुदन गुरुङलाई कमजोर पार्न गोल्छासहित अन्य व्यासायीहरु हात धोएर लागिपरेको चर्चा छ ।
प्रतिष्ठित व्यवसायीहरू नै बिचौलियाका मतियार बनेर शेयर बजारमा कृत्रिम मूल्य वृद्धि गर्ने र संस्थागत कोषको दोहन गर्ने कार्यले नेपालको वित्तीय प्रणालीमाथि नै प्रश्न उठाएको छ ।