देश

रवि–बालेनको ताकेतालाई बेवास्ता, कांग्रेस–एमालेका नियुक्ति खानेले लाजै पचाए, अदालत जाने धम्की (भिडियोसहित)


काठमाडौं— सत्ता फेरिएसँगै राज्यका विभिन्न निकायमा गरिएका राजनीतिक नियुक्तिहरू फेरिनु नेपालको एउटा स्थापित तर विवादास्पद परम्परा नै हो । जस अनुसार, बालेन्द्र शाह नेतृत्वको नयाँ सरकारले पनि अघिल्लो सरकारका पालामा भएका राजनीतिक नियुक्तिहरू खारेज गर्ने तयारी थालेको छ । तर, यो तयारीका बीच नैतिकताका आधारमा मार्ग प्रशस्त गर्नुको साटो अदालतको ओत लाग्ने र कुर्सीमा टाँसिइरहनेहरूको लाम निकै लामो देखिएको छ । यही विषयलाई दृष्टिगत गर्दै संसद्को पहिलो बैठकमै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजनीतिक नियुक्ति पाएका सार्वजनिक निकायका पदाधिकारी र सदस्यहरूलाई स्वेच्छिक रूपमा पद छाड्न औपचारिक आह्वान नै गरेका थिए ।
विगतका सरकारले आफू अनुकूल नियुक्त गरेका पदाधिकारीहरूले आफैँ पद छाड्ने छाटकाँट नदेखेपछि बालेन सरकार कठोर कदम चाल्न बाध्य भएको देखिन्छ । सरकारले राजीनामा दिन गरिएको आग्रहलाई बेवास्ता गर्ने ६ देशका राजदूतहरूलाई फिर्ता बोलाइसकेको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार मंगलबार ती राजदूतहरूलाई फिर्ता बोलाइएको हो, जो केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारका पालामा नियुक्त भएका थिए । तर, अझै पनि अधिकांश पदाधिकारीहरू पद छाड्ने मनस्थितिमा देखिँदैनन् ।