देश

ओली–लेखक कानुनी चिरफार, छुटाउने अनौठो तरिका, वकिलले बेन्च घेरे, प्रमाण खोज्न प्रहरीको छापा (भिडियोसहित)


काठमाडौं— पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ प्रकरणले नयाँ मोड लिएको छ । ओली र लेखक पक्राउविरुद्धको बन्दीप्रत्यक्षकरणको रिट सर्वोच्च अदालतले खारेज गर्दै अब म्याद नथप्न परमादेश जारी गरेसँगै उनीहरुको मुद्दा के हुन्छ भन्ने धेरैको चासोको विषय बनेको छ । सर्वोच्चले विभिन्न कारण देखाउँदै जारी गरेको परमादेशमा यही अभियोगमा पक्राउ परेका काठमाडौँ जिल्ला प्रशासन कार्यालयका तत्कालीन सिडिओ छवि रिजाललाई हाजिरी जमानीमा छोडिएको नजिरलाई पनि आधार बनाएको छ । यस्तै, एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था र उनी पितृशोकमा रहेको तथा लेखक मातृशोकमा रहेको मानवीय संवेदनाको पक्षलाई पनि सर्वोच्चले उल्लेख गरेको छ । यसअघि काठमाडौँ जिल्ला अदालतले ओली र लेखकलाई पछिल्लो पटक पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो, जसको म्याद चैत २५ गते बिहीबार सकिँदैछ । अदालतले उनीहरूलाई पक्राउ गरिएको प्रक्रिया र म्याद थपलाई ‘कानुन सम्मत’ नै ठह¥याएको छ । त्यसैले बन्दीप्रत्यक्षीकरणको आदेश जारी नभए पनि मानवीय र विशिष्ट परिस्थितिका कारण थुनामै राखेर अनुसन्धान गरिरहनु नपर्ने सर्वोच्चको ठहर छ । सर्वोच्चको यो आदेशसँगै अब प्रहरीसँग दुईवटा विकल्प बाँकी छन् ।