देश

बालेनको पक्षमा दलहरुको वाचा, शाहीको साथ, गणतन्त्रले जित्यो–प्रचण्ड, दलको नेतामा सुहाङको दाबी (भिडियोसहित)


काठमाडौ— प्रतिनिधिसभाका प्रत्यक्ष र समानुपातिकतर्फका नवनिर्वाचित २७४ सांसदहरुले बिहीबार एकैपटक पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीहरूलाई ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ खुवाएका हुन् । केसीले भने ज्येष्ठ सदस्यको रुपमा बुधबार राष्ट्रपतिबाट शपथ लिएका थिए । शुक्रबार शपथ ग्रहणअघि नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले जनताका आशा र अपेक्षा पूरा गर्न हरप्रयास गर्ने प्रतिबद्धता जनाए । सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले जनताले दिएको मतलाई सम्मान गर्दै अघि बढ्ने बताएका छन् । यस निर्वाचनमा जनताले ठूलो विश्वास गर्दै रास्वपालाई ठूलो दल बनाएको र एकल सरकार गठनको अधिकार दिएकाले उक्त जनमतलाई न्याय गर्दै अघि बढ्ने उनले स्पष्ट पारे । अब बन्ने सरकारको प्राथमिकता सुशासन र आर्थिक पुनर्संरचना हुने उनको भनाइ छ ।