देश

बालेनको दुईतिहाइ शक्ति, उथलपुथल ः प्रचण्डकै खाँचो, गगनसँग सदनको साँचो, संविधान र कानुन हेरौँ (भिडियोसहित)


काठमाडौं— नवनिर्वाचित सांसदले चैत १२ गते शपथ लिएसँगै चैत १३ गते बालेन साह इतिहासकै शक्तिशाली प्रधानमन्त्री बन्दैछन् । कुनै समस्या नआए पूर्वसहमति अनुसार अबको पाँच वर्ष उनले नै देशको बागडोर सम्हाल्नेछन् । बालेन प्रधानमन्त्री बनेपछि देशले मुहार फेर्छ भन्ने भावसहित मतदान गरेका र आम शुभेच्छुकमा एउटा जिज्ञासा भने छ– त्यो हो, झन्डै दुई–तिहाइको रास्वपा सरकार अर्थात् बालेन नेतृत्वको सरकारले के–के गर्न पाउँछ, के गर्न पाउँदैन ? यो जिज्ञासा अहिले सबैको मनमा छ ।
राष्ट्रिय सभामा रास्वपाको उपस्थिति नरहेको अवस्थामा पुराना दलहरूको बहुमतका कारण बालेन सरकारले कुन काम गर्दा सहज हुन्छ र कुन काममा संवैधानिक अड्चन आउँछ भन्ने विषयमा बहस भइरहेको छ । यो निर्वाचनले संसद्को विगतको अंकगणित फेरिदिएको छ । जनमतले रास्वपालाई एकलौटी सरकार सञ्चालनको अधिकार दिएको छ । रास्वपाको बाचापत्रमा प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था उल्लेख गरिएको छ । त्यससँगै कानुन संशोधनमा रास्वपाले कस्ता काम गर्न सक्ला भनेर यतिखेर नागरिकहरू ‘पर्ख र हेर’ को स्थितिमा छन् ।