काठमाडौं— राजनीतिमा नयाँ शक्तिको उदय जति उत्साहजनक हुन्छ, त्यसलाई संस्थागत र मर्यादित बनाउनु उति नै चुनौतीपूर्ण हुनेगर्छ । भारी जनमतबाट निर्वाचित भएसँगै सदन छिर्न लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूका लागि अहिले ‘संसदीय स्कुलिङ’ अनिवार्य बनेको छ । यसै सन्दर्भमा (रास्वपा) ले आफ्ना नवनिर्वाचित सांसदहरूका लागि मंगलबार र बुधबार दुई दिने विशेष प्रशिक्षण आयोजना ग¥यो । सदन छिर्नुअघि सांसदहरूलाई संसदीय मर्यादा, कार्यप्रणाली, ऐन–कानुन निर्माणको प्रक्रिया, आफ्नो कर्तव्य, अधिकार र अनुशासनबारे पोख्त बनाउनु यो कार्यक्रमको मुख्य ध्येय थियो । एउटै होटलमा खानपान र आवाससहितको व्यवस्था गरिएको प्रशिक्षणमा १८२ सांसदमध्ये प्रायः सबैको उत्साहजनक सहभागिता रह्यो । रास्वपाका लागि यी दुई दिन केवल सिकाइका लागि मात्र नभई चुनावी विजयको उत्सव मनाउने क्षण पनि बन्यो । तर, यो महत्त्वपूर्ण अवसरमा एउटा दृश्यले धेरैको ध्यान खिच्यो— त्यो थियो पार्टीका वरिष्ठ नेता एवं भावी प्रधानमन्त्रीका रूपमा हेरिएका बालेन्द्र साहको अनुपस्थिति । बुधबारको समापन सत्रमा पार्टी सभापति रवि लामिछाने उपस्थित भएर सांसदहरूलाई प्रोत्साहित गरिरहँदा, अर्का प्रभावशाली नेता साहले भने कार्यक्रममा एक पटक पनि अनुहार देखाएनन् । पहिलो पटक संसद्को यात्रा तय गर्न लागेका बालेनले आफ्ना सहकर्मी सांसदहरूसँग परिचय गर्न र संसदीय अभ्यासको तालिम लिन आवश्यक ठानेनन् । जसले अहिले राजनीतिक वृत्तमा विभिन्न टीकाटिप्पणी जन्माएको छ ।
देश


प्रतिक्रिया