देश

सुदन गुरुङ ः सडकबाट सदन पुगे, गृहमन्त्री खोजे, रवि–बालेन मिलाउँदा पनि छैन भाग, सुशीलाको पाउमा (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं— जेनजी आन्दोलनमा स्वयंसेवकदेखि अन्तरिम सरकार गठनमा ‘किङमेकर’को भूमिका निभाएका सुदन गुरुङ अब संसद् प्रवेश गर्दै छन् । भदौ २३ गते ‘हामी नेपाल’ नामक आईएनजीओबाट पानी बाँड्न गएका गुरुङ, आन्दोलनको ‘स्टेक होल्डर’देखि जनअनुमोदित सांसदसम्म भएका छन् । योसँगै तत्कालीन माओवादी र कांग्रेसको स्थापित गढ भत्काउँदै १४ हजारभन्दा बढी मतान्तरले जित हासिल गरेका गुरुङले अब सदनमा गोरखा क्षेत्र नम्बर १ का जनताको प्रतिनिधित्व गर्नेछन् । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा मन्त्री नियुक्तिको प्रत्यक्ष भूमिकामा देखिएका उनी बालेन्द्र साह, रवि लामिछाने र कुलमान घिसिङबीचको सहमतिमा समेत सूत्राधारको भूमिकामा देखिए । यस्तै, उम्मेदवारी दर्ताको केही दिनअघि मात्रै रास्वपा प्रवेश गरेका उनले आफ्नै जन्मथलो गोरखा–१ बाट उम्मेदवारी दिए र वर्षौँ पुरानो साइनो–सम्बन्धको धागो जोड्दै चुनावमा विजेता भएर आए । चुनाव जितेलगत्तै उनले गोरखाका जनताका लागि सक्रियता देखाएका छन् । गोरखाका विभिन्न दुर्गम क्षेत्रमा सञ्चार सेवामा समस्या रहेकाले त्यसको समाधानको माग गर्दै उनी बिहीबार नेपाल टेलिकमको केन्द्रीय कार्यालय पुगे । जिल्लाका ११ भन्दा बढी स्थानमा तत्काल टावर जडान गरी जनतालाई सञ्चारको पहुँचमा पु¥याउन भन्दै उनले पत्र बुझाएका छन् । यस्तै, उनले निर्माणाधीन नयाँ संसद् भवनको अवलोकन समेत गरेका छन् ।