देश

झापा–५ ः क्लाइमेक्समा ओली–बालेन भिडन्त, मौन अवधिमा पासा पल्टाउने एमाले नीति, जित–हारको प्रक्षेपण (भिडियोसहित)


काठमाडौं— चुनावी सभा र शक्ति प्रदर्शन गर्ने अन्तिम दिन, आइतबार सुरुदेखि नै ‘इपिसेन्टर’ बनेको झापा–५ का दुई ‘हेभीवेट’ भावी प्रधानमन्त्रीका उम्मेदवार अन्तिम रणनीतिमा छन् । एकातिर एमाले अध्यक्ष केपी शर्मा ओली आफ्नो विरासत जोगाउने अन्तिम कसरतमा छन् भने अर्कोतिर युवा क्रेज बोकेका रास्वपाका वरिष्ठ नेता बालेन साह ओलीको संसदीय यात्रामा ‘ब्रेक’ लगाउने रणनीतिसहित मैदानमा उत्रिएका छन् । मनोनयन दर्तापछि एमालेका अध्यक्ष ओलीले झापा छोडेका छैनन् भने बालेन साह देश दौडाहामा हुँदा पनि उनकी श्रीमतीले झापामा डेरा जमाएर बसेकी छन् । अन्य दलका शीर्ष नेता आफ्ना दलका उम्मेदवारको निर्वाचन क्षेत्रमा गए पनि ओली भने कतै नगई झापा–५ का मतदातामाझ पुगिरहेका छन् । चुनावी अभियानमा ओलीले राष्ट्रियताको मुद्दालाई छेडेका छन् । उनले यो निर्वाचनलाई देश बनाउने र जलाउने बीचको लडाइँका रुपमा अथ्र्र्याएका छन् ।