देश

देउवा–आरजुकै खोजी, बुढानीलकण्ठको घर बेच्दै, दुर्गादेखि गगनसम्म जवाफ दिँदै हैरान, सिंगापुरमा के ? (भिडियोसहित)


काठमाडौं— सत्ता राजनीतिका माहिर खेलाडी हुन्, नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा । २०४८ सालयता डडेल्धुराबाट लगातार सात पटक चुनाव जितेर रेकर्ड बनाएका छन् । तर, यसपटकको चुनावी मैदानमा उनी छैनन् । अन्तिम पटक चुनावी मैदानमा उत्रने इच्छा हुँदाहुँदै पनि पार्टीभित्रको समीकरण र टिकट नपाएका कारण देउवा किनारा लागेको चर्चा राजनीतिक वृत्तमा छ । जेनजी आन्दोलन र पार्टीको विशेष महाधिवेशनपछि देउवाको सक्रियता मात्र घटेन, उनी लगभग ओझेलमै परेका छन् । यतिसम्म कि, पार्टी निर्वाचनमा होमिएका बेला देउवाले आफ्ना उम्मेदवारका पक्षमा एउटा सार्वजनिक अभिव्यक्ति समेत दिएका छैनन् । तर, देउवाको गृहजिल्ला डडेल्धुरादेखि राष्ट्रिय राजनीतिसम्म उनको खोजी भइरहेको छ । विशेष महाधिवेशनबाट बहिर्गमन भएका देउवाको साथ गगन थापा नेतृत्वको कांग्रेसले खोजिरहेको थियो । तर देउवा भने मौन नै रहे । देउवाको स्थानमा कांग्रेसले डडेल्धुरामा नैनसिंह महरलाई उम्मेदवार बनाएको छ । यहाँ उम्मेदवारले देउवाको फोटो राखेर प्रचारसमेत गरिरहेका छन् । बदलिएको कांग्रेसका उम्मेदवारहरू देउवाको साथ पाउने आशामा थिए । ‘जेनजी’ आन्दोलनका बेला देउवा दम्पतीमाथि सांघातिक आक्रमण भएको भन्दै केही सहानुभूति पनि थियो । डडेल्धुराका जनता अन्तिम पटक मात्रै भए पनि देउवा निर्वाचन लडेको हेर्न चाहन्थे । त्यो इच्छा त पूरा भएन, अब उनी मतदान गर्न जान्छन् कि जाँदैनन् भन्ने कुरामा मतदाता ‘पर्ख र हेर’ को स्थितिमा छन् ।