देश

कांग्रेसका पदाधिकारी, गगनलाई अमरेशको टक्कर, गुरु र प्रदीपलाई घण्टी घाँडो, ५ सहमहामन्त्री जित्लान् ? (भिडियोसहित)


काठमाडौ— सुधारिएको कांग्रेसको नारा र बदलिएको राजनीतिक समीकरणका बीच कांग्रेसका शीर्ष सारथिहरू नै चुनावी अग्निपरीक्षामा होमिएका छन् । पार्टी पदाधिकारीको ओज र विरासत जोगाउने चुनौती एकातिर छ भने, उदाउँदा नयाँ शक्तिहरूको धक्का अर्कोतिर । फागुन २१ को महासंग्राममा कांग्रेसका ७ पदाधिकारीको राजनीतिक भविष्य निर्धाण गर्ने पक्का छ । कांग्रेसका १२ पदाधिकारीमध्ये ७ जना चुनावी मैदानमा छन् । सुरुवाती चरणमा अन्योल देखिए पनि सभापति गगन थापाले सर्लाही–४ लाई अहिले आफू अनुकूल बनाएका छन् । निर्वाचन क्षेत्रको निरन्तर खटाइ र अन्य दलबाट प्रवेशको लहरले थापालाई जितको अंकगणित नजिक पु¥याएको विश्लेषण भइरहेको छ । तर, अन्य पदाधिकारीका लागि भने यो निर्वाचनको नतिजाबारे अझै अन्योल देखिन्छ । उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाल यसपटक उम्मेदवार छैनन्, जसमध्ये शर्माले यो निर्वाचनको कमान्ड सम्हालिरहेका छन् ।