काठमाडौं— दुई दिनको अवधिमा तीन प्रमुख राजनीतिक दलले आ–आफ्नो घोषणापत्र सार्वजनिक गरेका छन् । बुधबार नेपाली कांग्रेसले मधेश प्रदेशको राजधानी जनकपुरबाट ‘प्रतिज्ञापत्र भिजन १०’ सार्वजनिक गरेको थियो भने बिहीबार नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले घोषणापत्र जारी गरेका छन् । बिहीबार संघीय राजधानी काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न ‘एमालेले बनाउँछ’ भन्ने मूल नारासहित आफ्नो सङ्कल्प सार्वजनिक गरे । घोषणापत्रको खण्ड ‘ङ’ र ‘च’ मा एमालेले आफ्नो नेतृत्वमा सरकार गठन भएमा गर्ने तत्कालका कामहरू र दीर्घकालीन विकासका २५ वटा आधारस्तम्भहरूलाई मुख्य रूपमा अघि सारेको छ । विशेषगरी महिला, युवा, विद्यार्थी, श्रमिक र विपन्न वर्गलाई लक्षित गरी लोकप्रिय कार्यक्रमहरू घोषणा गरेको एमालेले आगामी ५ वर्षभित्र मुलुकको अर्थतन्त्रको आकार एक खर्ब र १० वर्षमा दुई खर्ब पु¥याउने तथा नेपालीको प्रतिव्यक्ति आय ५ वर्षमा ३ हजार अमेरिकी डलर पु¥याउने महत्त्वाकांक्षी आर्थिक विकासको लक्ष्य राखेको छ । जनतालाई प्रत्यक्ष राहत दिने उद्देश्यले एमालेले सरकार गठन लगत्तै सुरु गर्ने ११ वटा ग्यारेन्टीसहितका कामहरू घोषणापत्रमा समेटेको छ । जसअनुसार १८ देखि २८ वर्ष उमेर समूहका युवाहरूलाई वार्षिक रूपमा १० जीबी डाटा निःशुल्क उपलब्ध गराउने, सूचना प्रविधि र स्टार्टअपमा लाग्ने युवालाई १० हजार डलर बराबरको ‘डलर कार्ड’ र विद्यार्थीलाई २० लाखसम्मको निब्र्याजी ऋण उपलब्ध गराउने प्रतिबद्धता छन् ।
देश


प्रतिक्रिया